मनसुनजन्य विपतबाट हुने जोखिमको न्यूनीकरण, उद्धार तथा राहतका लागि पूर्वतयारीमा रहन गृहमन्त्रीको निर्देशन
यस वर्षको मनसुन जेठ ३१ देखि असोज १७ सम्म रहने छ । त्यस अवधिमा १८ लाख जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । मनसुन अवधिमा अत्यधिक वर्षाका कारण बाढीपहिरो र डुबानबाट देशभर चार लाख १२ हजार घरपरिवारका १८ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१ सोमबार पारित भएको छ ।
प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले यस वर्षको मनसुनजन्य विपत्बाट ८३ हजार परिवार प्रभावित हुने तथा १८ हजार परिवारलाई प्रत्यक्ष रूपमा राहत उपलब्ध गराउनुपर्ने अनुमान गरिएको बताउनुभयो ।
मनसुनजन्य विपत्मा परेका नागरिकको उद्धार, पुनस्र्थापना तथा राहतका लागि नेपाली सेनाका १० हजार ८४७, सशस्त्र बल नेपालका नौ हजार ९२४ र नेपाल प्रहरीका १० हजार ५८५ गरी ३१ हजारभन्दा बढी सुरक्षाकर्मी प्रत्यक्ष रूपमा परिचालन गर्ने तयारी गरिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मनसुनजन्य विपत्बाट हुने जोखिमको न्यूनीकरण, उद्धार तथा राहतका लागि पूर्वतयारीमा रहन निर्देशन दिनुभएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ सार्वजजिक गर्दै उहाँले विपत्को सामना गर्न एकढिक्का भएर जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: