संघीय अस्पतालका आइसियु र सिसियु कक्ष सुधार गर्न सरकारलाई संसदीय समितिकाे निर्देशन

२८ जेष्ठ २०८१

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशभरका सङ्घीय अस्पतालमा रहेका सघन कक्ष (आइसियु) र अति सघन कक्ष (सिसियु)को अवस्थाबारे अध्ययन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
.
समितिको आजको बैठकले वीर अस्पतालमा रहेका आइसियु, सिसियु बेड, भेन्टिलेटर, कार्डियाक युनिट, जेरियाट्रिक युनिट र लिभर युनिटमा जनशक्ति व्यवस्थापन गरी सञ्चालनको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

समिति सभापति अम्मरबहादुर थापाले उपत्यकाका वीर, पाटन, त्रिवि शिक्षण अस्पतालको अवस्था र सेवा प्रवाहबारे समितिले अनुगमन गर्ने र स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम सर्भे) अघि बढाउन अर्थ मन्त्रालयलाई अनुरोध गर्नेसमेत निर्णय भएको जानकारी दिए ।
बैठकमा उक्त मन्त्रालयको अवस्था, कार्यप्रगति र चुनौतीबारे छलफलपछि समितिले स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार एवं सेवा प्रभावकारिताका लागि मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।