विपद् जोखिम न्यूनीकरणका लागि समयमै सही सूचना दिने व्यवस्था मिलाउन संचारमन्त्रीकाे आग्रह
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बाढी पहिरो लगायत विपद् जोखिम न्यूनीकरण गर्न आम नागरिकलाई समयमै सही सूचना दिने व्यवस्था मिलाउन मातहतका निकाय तथा सरोकारवालाहरूलाई आग्रह गरेकी छिन् ।
मनसुनजन्य विपद्का घटना बढ्न थालेको बेला इमरजेन्सी टेलिकम्युनिकेसन क्लष्टर (ईटिसी) को बैठक आह्वान गरेर मन्त्री शर्माले सबैलाई तयारी अवस्था रहन आग्रह गरेकी हुन् । उनले आफ्ना सबै संरचनाहरू तयारी हालतमा राखेर नागरिकलाई तत्काल सूचना दिने गरी पूर्वतयारी थाल्ने सरोकारवालाहरूलाई आग्रह गरिन्।
‘‘आपत्कालीन अवस्थामा सञ्चार नै प्रमुख कुरा हो, समयमै सही सूचना भयो भने एकातिर जनधनको क्षति रोक्न सकिन्छ भने अर्कोतिर उद्धार, उपचार र राहतका काम पनि प्रभावकारी बनाउन सकिन्छ,’’ उनले भनिन्, ‘‘विपद्को बेलामा सञ्चार पूर्वाधारमा कुनै समस्या आउन नदिएर सेवा प्रवाह गर्ने र आवश्यक सूचना प्रचारप्रसार गरेर क्षति न्यूनीकरण गर्ने पनि सञ्चार क्षेत्र नै भएकाले यो क्षेत्र थप गम्भीर र संवेदनशील हुन आवश्यक छ ।’’
विपद्का घटना हुनुअघि पूर्व सूचना दिने र स्वयम् सञ्चार सम्बद्ध निकाय तथा संस्थाहरूले आफूलाई विपदबाट बचाएर सेवा प्रवाह गर्ने दुवै तरिकाले सोच्नुपर्ने उल्लेख गर्नुहुँदै मन्त्री शर्माले हरेक निकायले आपत्कालीन उद्धार समूहहरू बनाएर अघि बढ्नुपर्ने बताईन् ।
टेलिफोन र इन्टरनेट सेवा प्रदायकहरूलाई सम्भावित जोखिमस्थलहरुको पहिचान गरेर घटनापछि सेवा अवरुद्ध नहुने गरी वैकल्पिक व्यवस्थापन गर्न उनकाे आग्रह छ।

प्रतिक्रिया दिनुहोस्: