टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद तेजुलाल चौधरी सोधेको प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टीकापुरमा जनधनको अपुरणीय क्षति भएकाले कानुन अनुसार कारबाही हुने बताएका हुन् । उनले कैद माफी मिनाहाको विषय पनि कानुन बमोजिम नै हुने बताए।
उनले भने, ‘टीकापुर घटना एउटा दुःखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरुको हकमा कानुन बमोजिम नै हुने कुरा माननीयज्यूहरुलाई अवगत नै छ । जहाँसम्म कैद माफी मिनाहाको विषय छ त्यस घटनामा कानुन बमोजिको प्रकृया पूरा गरेका केहीले सो सुविधा पाइसक्नु भएको छ भने बाँकीले कानुन बमोजिम तोकिएको प्रक्रिया अनुरुप निरुपण हुने नै छ।’
प्रधानमन्त्रीले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको बताए । पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको भन्दै प्रधानमन्त्रीले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छुटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्: