अबिलम्ब राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनमा मागेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह गरेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
अल्पमतमा परेको सरकारले निर्णय गर्ने हैसियत नराख्ने भएकाले प्रधानमन्त्रीलाई राजीनामा दिन एमालेले आग्रह गरेको छ । बर्तौलाले भने, ‘राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्गप्रशस्त गर्न आग्रह गरेका छौँ । अहिले सरकारले विभिन्न निर्णय गरिरहेको छ । अल्पमतमा परेको सरकारले निर्णय गर्न हैसियत राख्दैन ।
राजीनामा पहिलो माग हो ।’ यस्तै, एमालेले संविधानको धारा ७६ को उपधारा २ अनुसार नै नयाँ सरकार गठन गर्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिई उनको सरकार ढलेमा संविधानको धारा ७६ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेता प्रधानमन्त्री हुने चर्चा चलिरहेका बेला एमाले संसदीय दलको बैठकले नयाँ सरकार कांग्रेस–एमालेको गठबन्धनबाट ७६(२) अनुसार हुने स्पष्ट पारेको हो ।
कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार पहिलोचरणमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

प्रतिक्रिया दिनुहोस्: