कर्णालीका नवनियुक्त चार मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

२० श्रावण २०८१

कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार कांग्रेसकातर्फबाट चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

राजीव विक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।

नवनियुक्त मन्त्रीहरूले आइतबारै पदभार ग्रहण गर्ने छन् ।

कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा विश्वासको मत पाउने पक्का भएको छ । मुख्यमन्त्री कँडेलले सोमबार प्रदेशसभामा विश्वासको मत लिँदैछन् ।