सरकारले सस्तो लोकप्रियताका लागि स्टन्टबाजी गर्दैन : प्रधानमन्त्री ओली

२० श्रावण २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले सस्तो लोकप्रियताका लागि स्टन्टबाजी नगर्ने बताएका छन् ।

आइतबार पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्टन्टबाजीका रूपमा सरकारले कुनै काम नगर्ने बताएका हुन् ।

विगतमा स्टन्टबाजीका धेरै काम भएका भन्दै आफूहरुले त्यसो नगर्ने बताए । उनले भने, ‘कांग्रेस र एमालेको समीकरणले कुनै भुलभुलैयामा, पपुलिस्ट हुने वा स्टन्टबाजीका रूपमा कुनै काम गर्दैन ।’

प्रधानमन्त्रीले लोकतन्त्रलाई सुदृढ गर्ने, संविधानको स्वीकार्यता र प्रभावकारी अभिवृद्धि गर्न संविधान संशोधन गरिने बताए । उनले एमाले देश चलाउन वैचारिक र सांगठनिक हिसाबले हकदार पार्टी भएको बताए ।

उनले भने, ‘नेकपा एमाले एउटा बलिदानपूर्ण संघर्षको लामो इतिहास बोकेको पार्टी हो । ७५ वर्षको राजनीतिक आन्दोलनमा संलग्नता/सहभागिता मात्र होइन नेतृत्व गरेको पार्टी हो। कहिले वैचारिक, कहिले व्यवहारिक र सांगठनिक हिसाबले नेतृत्व गरेको पार्टी हो।’

प्रधानमन्त्री ओलीले एमाले र संविधान संशोधनप्रति भ्रम फैलाउने कोसिस भइरहेको बताए।