गृहमन्त्री लेखकसँग अस्ट्रेलियन राजदूत वोल्कको बिदाइ भेट
काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले गृहमन्त्री रमेश लेखकसँग विदाइ भेटवार्ता गर्नु भएको छ । सोमबार दिउँसो गृह मन्त्रालयमा नेपालका लागि अस्ट्रेलियनको राजदूतका रूपमा साढे तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लाग्नुभएकी राजदूत वोल्कले गृहमन्त्री लेखकसँग विदाइ भेट गर्नुभएको हो ।
गृहमन्त्री लेखकले दुई देशबिच भएको व्यापार र लगानी सम्झौताका साथै विभिन्न माध्यामबाट अस्ट्रेलियन सरकारले गरेको आर्थिक सहायताका लागि धन्यवाद दिनुभयो ।
भेटमा राजदूत वोल्कले नेपालमा रहँदा आफूले देशका धेरै ठाउँ पुगेको र यहाँको संस्कृति, जनजीवन नजिकबाट नियाल्ने अवसर पाएको बताउनुभयो । साथै उहाँले मानवीय सहायताका साथै विकास सहायताका रूपमा पनि अस्ट्रेलिया सधैँ नेपालको साथमा रहने बताउनुभयो ।
लामो समयदेखि टुङ्गोमा पुग्न नसकेको सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दलहरूबिच सहमति भएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको राजदूत वोल्कले बताउनुभयो । गृहमन्त्री लेखकले संक्रमणकालीन न्यायसम्बन्धि विधेयक भोलि संसदमा पेस हुने भन्दै सबैको सहमति रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्: