सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थप

१८ भाद्र २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन गर्न गठित विशेष समितिको म्याद १५ दिन थप गरिएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले समितिको १५ दिन म्याद थपका लागि गरेको प्रस्तावलाई सभाले सहमति जनाएको हो ।

समिति गठन भएको भदौ २३ गते तीन महिना पूरा हुँदैछ । तर समितिले काम पूरा नभएको भन्दै समय थप्न माग गरेपछि १५ म्याद थप गरिएको हो । सहकारीपीडितले समितिको कामलाई सूक्ष्मतापूर्वक हेरिरहेका छन् ।

नेपाली कांग्रेसको लामो बिरोधपछि संसद्बाट जेठ २३ गते समस्या देखिएका सहकारीका विषयमा अध्ययन गर्न समिति गठन भएको थियो ।

समितिलाई समस्यामा परेका बचतकर्ताको रकमबारे अध्ययन गरी सिफारिस गर्ने, बचत फिर्ताको अवस्था कहाँ पुगेको छ, त्यसको अध्ययन गर्ने, रकम हिनामिना भएको भनिएका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा रकम पठाउँदा कानुन बमोजिम प्रक्रिया पूरा गरी भए, नभएको अध्ययन गर्नेलगायत जिम्मेवारी दिइएको छ ।

समितिले गोरखा मिडिया नेटवर्कमा आबद्ध अधिकारीहरुसँग पनि छलफल गरिसकेको छ । राजनीतिमा आउनुअघि नेटवर्कमा आबद्ध पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि समितिले सोधपुछ गरिसकेको छ ।