टीआईको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित

५ आश्विन २०८१

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्षमा मदनकृष्ण शर्मा निर्वाचित भएका छन् ।

शुक्रबार बसेकाे टीआईकाे २९ औँ वार्षिक साधारणसभाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शर्मालाई अध्यक्षमा निर्वाचित गरेको हाे । नाै सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ ।

कार्यसमिति सदस्यमा सुनिता गुरुङ्ग, लीलाप्रसाद सापकोटा, सुरेन्द्रवीर मालाकार,  सरोजप्रसाद पाण्डे, महेन्द्र नारायण श्रेष्ठ, राजेशकुमार जोेशी, सीता भट्टलाई निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष लामो समयसम्म लेखापरीक्षण पेशामा संग्लग्न रहँदै आएका थिए । उनी संस्थाको महासचिव र कार्यसमितिको सदस्यका रुपमा विगत ४ वर्ष क्रियाशील थिए ।

सभाले संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ । संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणलीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।