प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहजका लागि सहयोग गर्न व्यवसायीलाई गृहमन्त्रीको आग्रह

१६ आश्विन २०८१

काठमाडौँ ।  यातायात सहजरुपमा सञ्चालन गर्न गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीहरुसँग छलफल गरेका छन् । उनले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनसँग बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग/सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने विषयमा छलफल गरेका  हुन् र

बुधबार गृह मन्त्रालयमा विपदमा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला यातायात सहज र सुरक्षितरुपमा सञ्चालन गर्न यातायात व्यवसायी, यातायात मजदुर सङ्घ/सङ्गठनका पदाधीकारीबीच सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए ।

“विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ”, उनले भने, “बिपी राजमार्गअन्र्तगत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।”

गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको वरिष्ठ उपाध्यक्ष सिटौलाले बताए ।