विपद प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिने सरकारको निर्णय
१९ आश्विन २०८१
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित लाभग्राहीको नाम आएको तीन दिनभित्र अस्थायी आवासका लागि रकम दिन सकिने बताएका छन् ।
पालिकाहरूलाई चाँडो भन्दा चाँडो लाभग्राही परिचालन गरी नाम पठाउन आग्रह गर्दै शनिवार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताएका हुन् ।
उनले भने, ‘मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेका छौँ । घाइतेहरूको अस्पतालमा निःशुल्क उपचार अघि बढेको छ।’
सरकारले विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको बताउँदै उनले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्: