समस्याग्रस्त २२ वटा सहकारीका ६ हजार भन्दाबढी बचतकर्ताको शतप्रतिशत बचत फिर्ता

१३ कार्तिक २०८१

१३ कार्तिक , स्वच्छखबर, काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले हालसम्म ६ हजार १५५ बचतकर्ताको शतप्रतिशत बचत फिर्ता गरिएको जनाएको छ ।

कात्तिक १२ गते सोमबारसम्म चार सय ३८ मागदावी कर्ताको आंशिक भुक्तानी भएको छ । शतप्रतिशत भुक्तानी भएका र आंशिक गरी हालसम्म एक अर्ब ५१ करोड ५३ लाख ३६ हजार आठ सय ९९ समस्याग्रस्त घोषणा भएका २२ वटा सहकारीका ऋणीबाट उठाएर भुक्तानी गरिएको मंगलबार आयोजित कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीबाट समस्यामा परेकाको समस्या समाधानका लागि कानुन संशोधनको तयारी गरिएको जानकारी दिए । ऋण नतिर्ने र एकाघरका परिवारका सदस्यको सम्पत्ति र राहदानी रोक्का गर्ने तयारी गरिएको पनि उनले बताए ।

मन्त्रालयले अन्य केही सहकारीलाई पनि समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको जानकारी पनि मन्त्री अधिकारीले कार्यक्रममा गराए । अहिलेसम्म तीनवटा सहकारीका माग दावीकर्ताको रकम फिर्ता गरी राफसाफ गरिएको भन्दै उनले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य नौवटा सहकारीका मागदावीकर्ताको पनि बचत रकम राफसाफ गर्ने तयारी भएको मन्त्री अधिकारीले बताए ।

मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बचत फिर्ता गर्ने र समस्या नआउने गरी कानुन संशोधनको तयारी भइरहेको बताए । समस्याग्रस्त सहकारीका समस्या समाधानका लागि समितिको कार्यालयलाई जनशक्ति र साधनस्रोतको पनि व्यवस्था गर्न लागिएको पनि उनले बताए ।

बचत पीडितसँग गरिएको समझदारी कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै सचिव पोखरेलले अब कुनै पनि आन्दोलन जरुरी नभएको बताए ।