जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न सभापति देउवाको आग्रह

१३ कार्तिक २०८१

१३ कार्तिक , स्वच्छखबर, ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित मंगलबार ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उनले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।

सभापति देउवाले भने,“देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”

उनले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न आग्रह गरे ।

पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढीपहिरा तथा विपद्का समयमा सहयोग गर्नु आफूलगायत हरेक व्यक्तिको दायित्व भएको बताए ।