गैरआवासीय नेपालीलाई आवतजावत गर्दा भिसा नचाहिने कानून बनाउँछौँ : गृहमन्त्री लेखक

४ माघ २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीलाई नेपालमा आवतजावत तथा बसोबास गर्दा भिसा नचाहिने कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको अध्यादेशमा भएको केही प्रावधानले विदेशमा रहेका ८० लाख नेपालीहरुलाई निराश बनाएको भन्दै सरकारको ध्यानाकर्षण गराउन सिंहदरबार पुगेको गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डललाई आश्वास्त पार्दै गृहमन्त्री लेखकले यस्तो बताउका हुन् ।

बिहिबार अबेर राति सिंहदरबारस्थित गृहमन्त्रीको कार्यकक्षमा भएको भेटमा अध्यक्ष डा केसीले अध्यादेशमा भएको गैरआवासीय नेपाली नागरिकता बाहक नागरिकलाई १० वर्ष भिसा शुल्क नलाग्ने सम्बन्धमा भएको प्रावधानले गैरआवासीय नेपाली नागरिकताको सवालमा संविधानले परिकल्पना गरेको अधिकारलाई सम्बोधन नगरेको र संविधानको धारा १४ को मर्म अनुसार नभएको भन्दै सो कदमले विदेशमा रहेको ८० लाख नेपाली निराश भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिले संविधानमा उल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेगरी आउने हिउँदे अधिवेशनमा कानुन बनाउने प्रतिबद्धता व्यक्त गरे ।

साथै अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानून बन्दा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवत जावत गर्दा तथा बसोबास गर्दा भिसा नचाहिने कानून बन्ने प्रतिबद्धता समेत गरे ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,२०८१ʼमा समेटिएको संशोधनको संघले स्वागत गरेको भएको भएपनि ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ʼ केही प्रावधान उपर गैरआवासीय नेपाली संघले असन्तुष्टि राख्दै संविधानतः अधिकारको लागि सरकारसँग आग्रह गरेको हो ।