कांग्रेस संसदीय दलको बैठक आजदेखि प्रारम्भ

१३ माघ, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आजदेखि सुरु भएको छ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा प्रारम्भ भएको हो, जहाँ संसद्को हिउँदे अधिवेशनका विषयमा छलफल हुने जानकारी प्राप्त भएको छ। कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ।
बैठकमा सरकारद्वारा ल्याइएको अध्यादेश, आगामी अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू र पहिले नै प्रस्तुत भइ विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमा समेत छलफल हुने छ।
अधिवेशन आगामी १८ माघदेखि सुरु हुने तय भएको छ र यसलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन्। यसका केही दिन अघि सरकारले ६ अध्यादेश ल्याएको थियो, जसलाई राष्ट्रपतिबाट जारी गरिसकिएको छ।
संसद् अधिवेशनको मिति तय भएपनि सरकारको अध्यादेश ल्याउने कदमलाई कांग्रेसको विभिन्न वृत्तले आलोचना गरेको छ। पार्टीका केही प्रभावशाली नेताहरूले सरकारको यो कदमलाई गलत भन्दै सार्वजनिक टिप्पणी गरेका थिए, जबकि शनिबार पार्टीको शीर्ष नेतृत्वले मन्त्रीहरूसँग छलफल गरी अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्: