कांग्रेसको बैठकमा मन्त्रीहरूको कार्यक्षमता माथि प्रश्न: ‘मन्त्रीहरू मुस्कुराउँदै, सेवाग्राहीहरू रुँदै हिड्ने अवस्था किन?’

१४ माघ, स्वच्छ खबर काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले पार्टीका प्रतिनिधि बनेर सरकारमा गएका मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।
कांग्रेस र एमालेको संयुक्त सरकारले जनतालाई अपेक्षित परिणाम दिन नसकेर निराशा थपिएको बताउँदै सांसदहरूले मन्त्रीहरूबाट स्पष्ट जवाफ मागेका छन् ।
‘पार्टीका अधिकांश मन्त्रीहरूको कार्य प्रभावकारी भएको देखिएन भन्ने गुनासो धेरै सांसदहरूले व्यक्त गरेका छन्,’ नयाँबानेश्वरस्थित ल्होत्से हलमा भएको कांग्रेस संसदीय दलको बैठकमा सहभागी एक सांसदले अनलाइनखबरसँग भने, ‘मन्त्रीहरूले आफ्नो क्षमता सुधारेर काममा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।’
यस्तै, कतिपय सांसदहरूले मन्त्रीहरू केवल उद्घाटन र समापनका कार्यक्रमहरूमा व्यस्त हुने गरेको आरोप लगाएका थिए, जसका कारण मन्त्रालयको कार्यक्षेत्रमा पर्याप्त ध्यान नदिएको कुरा उठाइएको थियो ।
आजको बैठकमा १७-१८ सांसदहरूले आआफ्ना विचार राखेका थिए, र प्रमुख सचेतक श्याम घिमिरेले बैठकका विषयमा जानकारी दिँदै भने, ‘मन्त्रीहरूको कार्यसम्पादन र सरकारले ल्याएका नयाँ अध्यादेशका विषयमा छलफल भएको हो ।’
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भने, ‘मन्त्रीहरूको प्रभावकारिता र कार्यक्षमता बारेमा छलफल भएको थियो । केही सांसदहरूले भने, मुस्कानसहितको सेवा दिने भनिएको छ, तर जनताले मुस्कुराउने मन्त्रीहरूको सेवा पाएर रुँदै हिड्नुपर्ने अवस्था देखिएको छ,’ खतिवडाले भने ।
बैठकमा सांसदहरूले सरकारको नयाँ अध्यादेशको बारेमा पर्याप्त छलफल र पूर्वजानकारीको अभावमा असन्तोष व्यक्त गरे । अध्यादेश ल्याउनु अघि आफ्नै पार्टीका मन्त्रीहरूले सांसदसँग छलफल नगरेको विषय पनि उठेको थियो, र मन्त्रीहरूले यसबारे स्पष्ट जवाफ दिनुपर्ने आवश्यकता जोडिएको थियो ।
‘देशमा निराशा बढिरहेको छ र यदि दुई ठूला दलको सरकारले पनि काम नगरेको खण्डमा यो निराशा अझै बढ्नेछ,’ एक सांसदले भने ।
बैठकको अन्त्यमा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रवारको बैठकमा बाँकी सांसदहरूको कुरा सुनेर मन्त्रीहरूलाई समन्वय कायम गर्न र सरकारका कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्: