शिक्षा विधेयकबारे कांग्रेसमा छलफल, महरलाई दिइयो जिम्मेवारी

३ बैशाख २०८२

काठमाडौं, बैशाख ३, स्वच्छ खबर । प्रमुख सत्तारुढदल नेपाली कांग्रेसले संसद्मा रहेको शिक्षा विधेयकबारे पार्टीको आधारिक धारणा बनाउनका लागि छलफल सुरू गरेको छ ।

कांग्रेस पदाधिकारी र शिक्षा विभागबीच मंगलबार बेलुकी सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको छलफलपछि शिक्षा संसद्को उपसमितिमा छलफलमा रहेको विधेयकका २८ बुँदामा रहेका असहमति र विधेयकबारे पूर्ण धारणा निर्माण गर्नका लागि समन्वय गर्न शिक्षा विभाग प्रमुख नैनसिंह महर लाई जिम्मेवारी दिएको हो ।

विद्यालय शिक्षा ऐनको माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका शिक्षकहरूको सम्मान गर्दै उनीहरूसँग यसअघि सरकारले प्रतिवद्धता जनाए अनुरुप माग सुनुवाइका लागि समेत कांग्रेसले पहलकदमी गर्ने पार्टी मुख्यसचिव कृष्ण पौडेलले बताए ।

‘शिक्षकका माग सम्बोधनका लागि विधेयकका विषयमा धारणा बनाउन सम्बन्धित पक्ष र निकायसँग आवश्यक समन्वयका लागि हामीले शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई जिम्मेवारी दिएका छौं,’ उनले भने, ‘उहाँहरूले द्रूत गतिमा विमर्शका माध्यमबाट तयार पारेको धारणालाई पार्टीले विचार विमर्श गरेर मूर्तता दिने छ र त्यो नै पार्टीको आधिकारिक धारणा हुने छ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि आन्दोलित शिक्षकसँग हिजो नै छलफल गरेका थिए । उक्त छलफलमा शिक्षकका माग सम्बोधनको लागि पहलकदमी लिने प्रतिबद्धता जनाएइएको बताइएको छ ।

सोही अनुरुप सोमबार बेलुकी नै संसदीय दलको कार्यालयमा महामन्त्रीद्वय र शिक्षा विभाग प्रमुख महरसहितका नेताहरूको छलफलले पार्टीको आधिकारिक धारणाका लागि विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको पौडेलले बताए ।

छलफलमा महामन्त्रीद्वय थापा र पौडेल, पार्टीबाट विधेयक उपसमितिका सदस्य डिगबहादुर लिम्बु र महेन्द्र साय यादव, सहमहामन्त्री जीवन परियार, विभाग प्रमुख महर, पार्टी मुख्यसचिव पौडैललगायत सहभागी थिए ।