ललिता निवास प्रकरण : तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्धको रितबारे पूर्ण इजलासमा सुनुवाइ हुँदै

४ बैशाख २०८२

काठमाडौं, ४ बैशाख, स्वच्छ खबर । पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग गरिएको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुँदैछ ।

मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेसहितको पूर्ण इजलासमा पेशी तोकिएको छ। यसअघि २०८१ साल चैत्र ७ गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन हेर्न नमिल्नेमा राखिएको थियो ।

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईसहित पूर्वमुख्य सचिव लिलामणि पौड्याल,प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,महान्यायाधीवक्ताको कार्यालय,नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलगायतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ ।

उनीहरू सबैविरुद्ध मुद्दा चलाउनुपर्ने मागसहितको रिट निवेदनलाई पूर्ण इजलासमा पठाउन सर्वोच्च अदालतले यसअघि नै आदेश दिइसकेको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले उक्त विषय पूर्ण इजलासमा पेश गर्न आदेश दिएको थियो । अब नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय पूर्ण इजलासले गर्नेछ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सो निर्णय बदरको माग गर्दै २९ माघ २०७६ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पूर्वप्रधानमन्त्री द्वय नेपाल र भट्टराई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दावीसहित उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरिएको छ । उनीहरूले नीतिगत निर्णय मात्रै गरेको भन्दै अख्तियारले मुद्दा नचलाउने निर्णय गरेको थियो ।