राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नर बन्दै !

४ बैशाख २०८२

काठमाडौं, वैशाख ४, स्वच्छ खबर । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन भनेका छन् । गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले अहिलेसम्म गभर्नर नियुक्त गर्न सकेको छैन, निलम ढुंगानालाई कार्यवाहक गभर्नरको जिम्मेवारी दिएको छ ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच कुरा नमिल्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको थियो । सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिसमेत गठन गरे राजनीतिक तहमा कुरा नमिल्दा यो समितिको बैठक नै बस्न सकेको थिएन ।

नयाँ गभर्नर आफूले छान्न पाउनुपर्ने मत प्रधानमन्त्री र कांग्रेस सभापति देउवाले राखेका थिए । तर उनीहरूबीच यसबारे केन्द्रित रहेर एक्लाएक्लै छलफल भने भएको थिएन । मंगलबार प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएर कुराकानी गरे । उनीहरूबीच करिब एक घन्टा भएको कुराकानीमा गभर्नरको विषय पनि थियो । प्रधानमन्त्री ओलीले सोही दिनमात्रै सभापति देउवासँग गभर्नरको नाम मागेका थिए । अब भने गभर्नरको नियुक्ति प्रक्रियाले गति लिने देखिएको छ ।

‘प्रधानमन्त्री ओली र सभापति देउवाबीच राष्ट्र बैंकमा करिअर अधिकारीलाई नै गभर्नर बनाउनेमा समझदारी छ, सभापति देउवाले राष्ट्र बैंकमै कार्यरत कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने मन बनाउनुभएको छ,’ सभापति देउवानिकट स्रोतले भन्यो । सभापति देउवाले गभर्नरका लागि नाम दिएका गुणाकर भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । साथै कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा भट्ट सल्लाहकार पनि थिए ।

अब उपप्रधानमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ । ती नाममध्ये एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ । सभापति देउवाले भट्टको नाम दिएकोले उनी नै गभर्नर नियुक्त हुने सम्भावना छ तर सिफारिस समितिबाट प्रक्रिया अघि बढ्नुपर्ने भएकोले केही दिन समय लाग्ने देखिन्छ ।

बिहीबार बूढानीलकण्ठमा भएको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी र केही मन्त्रीहरू सहितको बैठकमा पनि गभर्नरको विषय उठेको थियो । गभर्नरको विषयमा पार्टीले अडान लिनुपर्ने कुरा छलफलमा उठेको र जबाफमा सभापति देउवाले यसबारे प्रधानमन्त्रीसँग कुरा भएको र सकारात्मक कुरा आएको ’ब्रिफिङ’ गरेको बैठकपछि सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले जानकारी दिइन् । सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने कुरा पार्टीमा जानकारी गराएका थिए ।