दाउन्नेमा सास्ती, घण्टौँ जाममा फसे यात्रु

नवलपुर । सडकको खराब अवस्थाका कारण दाउन्नेमा यात्रुले निकै सास्ती खेप्नु परेको छ । बिहीबार अपराह्न र शुक्रबार बिहान वर्षा भएपछि दाउन्नेमा बाटो चिप्लो हुँदा यातायातका साधन सहज रूपमा चल्न सकेका छैनन् । जसका कारण घण्टौँ जाममा बस्न यात्रु बाध्य भएका छन् ।
भैरहवाबाट बिहीबार बिहान हिँडेका नवलपुर प्रगतिनगरका दिपक भट्टराईले ११ घण्टा जाममा बसेपछि बल्ल दुम्किवास आइपुगेको बताए । उनले भने,‘दाउन्ने काट्न १० देखि १२ घण्टा लाग्यो, यात्रुहरूको कन्तबिजोक छ ।’ उनले बाटो चिप्लो भएका कारण यातायातका साधन चल्न निकै मुस्किल भएको बताए ।
बाटो बिस्तारको क्रममा ठाउँठाउँमा डाँडा कटानको काम भएको र कल्भर्ट निर्माणका लागि खाल्डो खनिएकाले पानी परेपछि बाटोमा हिँड्न निकैंनै कठिनाइ भएको हो । सयौँ यातायातका साधन र यात्रुहरू बिहीबारदेखि नै जाममा छन् ।
सडक निर्माणका लागि बुधबारदेखि राति ११ देखि बिहान ५ बजेसम्म बाटो बन्द गरिँदै आइएको छ । तर वर्षाका कारण यो तालिका समेत प्रभावित बनेको छ । बाटो बिग्रँदा गन्तव्यमा हिँडेका यात्रुहरू अलपत्र अवस्थामा छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले बाटो मर्मत गरेर यातायात सहज सञ्चालन गर्ने प्रयास भइरहेको जानकारी दिएको छ । सडक अवरुद्ध भएका कारण सवारी साधनहरू लामो समयदेखि जाममा बस्न बाध्य भएका छन् । जसका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ ।
प्रतिक्रिया दिनुहोस्: