काठमाडौंबाट हेटौंडा आउँदै गरेको गाडी मकवानपुरमा दुर्घटना, २ जनाको मृत्यु, १४ घाइते

५ बैशाख २०८२

हेटौडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ सडकखण्डमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौडा आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको इभी गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुने दुवैजना महिला हुन्।

प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीय मानुसी मगर रहेका छन्।

दुर्घटनामा चालकसहित १४ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।