सिकार खेल्न गएका २४ वर्षीय युवकको गोली लागेर मृत्यु, १० जना पक्राउ
५ बैशाख २०८२
काठमाडौं । डोटीमा सिकार खेल्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ । बडीकेदार गाउँपालिका–२ बर्छैनका २४ वर्षीय नरेश सार्कीको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खड्यौलीस्थित प्रहरीचौकीका प्रमुख विरादत्त पन्तका अनुसार बिहीबार दिउँसो बडीकेदार गाउँपालिका–१ बेडुपाटा खोलाकिनारमा सिकार खेल्न गएका उनको गोली लागेर मृत्यु भएको हो ।
बडीकेदार गाउँपालिका–१ रजेडका कमलसिंह खड्काले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीको दायाँ छातीमा गोली लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको पन्तले बताए ।
घटनापछि प्रहरीले खड्कासँगै रजेडका खेम खड्का, तारासिंह खड्का, सोही गाउँपालिका– २ का तेजेन्द्र भाट, अम्मर शाह, चक्र भाट, सुनिल बम, गणेश घर्तीमगर, मानबहादुर शाह र गर्भुजाका जुलेश नामजाली मगरलाई पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्: