सत्य निरुपण आयोगको अध्यक्षको लागि १११ को आवेदन

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षसहित पदाधिकारी बन्न १११ जनाको आवेदन परेको छ । आवेदन दिनेहरूमा पूर्वप्रधानन्यायाधीशदेखि र न्यायाधीशहरू र पूर्वमुख्यसचिवसमेत छन्। सकारले गठन गरेको सिफारिस समितिले आकांक्षीको आवेदन आह्वान गरेको थियो । आवेदन आफैँ दिन सक्ने वा अन्य व्यक्ति तथा संस्थाहरूले पनि सिफारिस गर्न सक्ने व्यवस्था गरिएको थियो ।
अध्यक्ष पदमा आवेदन दिनेमा पूर्वमुख्यसचिव लीलादेवी गड्तौला, पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल, पूर्वउपकुलपति केदारभक्त माथेमा, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले आवेदन दिएका छन् । त्यस्तै पूर्वसांसद राधेश्याम अधिकारी, अधिकारकर्मी सुबोध प्याकुरेल, संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव कुलचन्द्र गौतम, संविधानविद् विपिन अधिकारीलगायतको आवेदन अध्यक्ष पदका लागि परेको छ ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठन भएको सिफारिस समितिले सार्वजनिक गरेको सूचीअनुसार दुई अध्यक्ष र सदस्यका लागि व्यक्तिगततर्फ ८२ जनाको आवेदन परेको हो । संस्थागततर्फ भने २९ जनाको आवेदन परेको छ । शान्ति प्रक्रियाको विषय टुंग्याउन भन्दै केही दिनअघि शीर्ष तीन दलका शीर्ष नेता पनि छलफलमा बसेका थिए ।
प्रतिक्रिया दिनुहोस्: