शिक्षा र निजामती विधेयकको समेत चापलाई ध्यान दिँदै बिदाबाहेक सबै दिन सदन चलाइने

१० बैशाख २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बजेट अधिवेशन सुरू हुनु २ दिनअघि भएको बैठकमा घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिले त्यसैअनुसारको क्यालेन्डर बनाउनेछ । घिमिरेले सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चापको अवगत गराएका थिए । विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकताका साथ पारित गर्नुपर्ने दायित्व संसदको रहेको उनले बताए ।

‘शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँले मलाई समेत भेटेर पहल गरिदिन भन्नुभएको छ । उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसदले तयारी गरेको छ । जुनसुकै दिन विधेयक संसदमा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गर्नेछौं । समितिको प्रतिवेदन आएलगत्तै संसदले पारित गर्ने प्रक्रिया सुरू गर्छ’, घिमिरेले भने । निजामतीलगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयारी अवस्थामा रहनुपर्नेमा पनि उनको जोड छ ।