मेयर बालेनको दाबी– काठमाडौं टावर निर्माणमा भएका भ्रष्टाचारका प्रमाण महानगरसँग सुरक्षित छ

११ बैशाख २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं टावरको भवन नक्सापासको प्रक्रियामा धेरै गम्भिर त्रुटी भएको बताएका छन् । उनले महानगरलाई आर्थिक क्षति पुर्याइ केही सीमित व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । बिहीबार एक फेसबुक स्टाटस मार्फत मेयर बालेनले भवन निर्माण र नक्सापाको प्रक्रियामा भएका अनियमितताको सम्पूर्ण प्रमाण महानगरसँग भएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘ भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भिर त्रुटीहरू भेटिएका छन् । महानगरलाई आर्थिक क्षति पुर्याइ केहि सिमित व्यक्तिहरुको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन् । विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित छन् । चाहिएमा सूचनाको हक छ हरेक नागरिकलाई, प्रक्रिया पुर्याएर लिन सक्नुहुन्छ ।

अनि अर्को कुरा हिल्टनको नक्सापास पनि उहाँले नै उही दिन गर्नु भएको हो । यसमा पनि सचिवालयले अध्ययन गर्दै छ । यसबाहेक थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला । तपाइहरु पनि कसैले महानगरमा यस्ता अनियमितता देख्नु भएको छ भने हामीलाई सुचना दिनुहोस् । तपाइको परिचय हामी गोप्य राख्ने छौँ । गल्ति गर्ने कसैलाई पनि छुट छैन महानगरमा ।’

काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको भन्दै मेयर बालेनले उनलाई कारबाही गरेका थिए। अहिले उनै गुरागाईं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली गरिसकेका छन् ।