शिक्षकहरुको मागबारे माओवादीले संसद्मा आवाज उठाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरुका जायज माग सम्बोधनका लागि संसद्मा आवाज उठाउने भएको छ । सिंहदरबारमा बिहीबार बसेको संसदीय दलको बैठकले सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको निष्कर्ष निकाल्दै संसद्बाटै पहल गर्ने बताएको हो । संघीय संसदका दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको वर्षे अधिवेशन भोलि शुक्रबार सुरु हुँदैछ ।
दलको बैठकमा धारणा राख्दै अध्यक्ष पुष्पकमल दाहालले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहे पनि सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष दाहालले संसद्बाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न पनि निर्देशन दिए ।
संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै ती विधेयक संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्: