आतङ्ककारीलाई उनीहरुले कल्पना गरेको भन्दा बढी सजाए दिन्छौंः मोदी

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु–कश्मीरको पाहलगाममा भएको आतङ्कवादी आक्रमणका दोषीहरूमाथि कठोर कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले ‘‘एक–एक आतङ्ककारी र तिनका समर्थकलाई चिन्न, पछ्याउन र सजाय दिन’’ भारत प्रतिबद्ध रहेको बताए । उक्त आक्रमणमा २८ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्रीले घटनाप्रति गहिरो पीडा महसुस गरेको सुनाए । ‘‘२२ एप्रिलमा जम्मु–कश्मीरको पाहलगाममा आतङ्ककारीहरूले निर्दोष नागरिकको ज्यान लिए। देश दुखी छ, पीडित परिवारसँग हामी छौँ,’’ उनले भने । मोदीले आतङ्ककारीहरूलाई कल्पना नगरेको किसिमको सजाय दिइने दाबीसमेत गरे। ‘‘दण्ड यति कडा हुनेछ, जुन उनीहरूले कल्पना समेत गरेका छैनन् । भारतको आत्मा आतङ्कवादबाट कहिल्यै झुकेन, न त झुक्नेछ,’’ उनले थपे ।
बिहारको भूमिबाट विश्वलाई सन्देश दिँदै प्रधानमन्त्रीले भारतले आतङ्कवादविरुद्धको लडाइँलाई कडाइका साथ अगाडि बढाउने बताए । ‘‘भारत प्रत्येक आतङ्ककारी र तिनका समर्थकलाई चिन्नेछ, खोज्नेछ र अन्तसम्म पछ्याएर कारबाही गर्नेछ,’’ उनको भनाइ थियो । प्रधानमन्त्रीले मानवतामा विश्वास गर्ने सबै देश र जनताको ऐक्यबद्धताको प्रशंसा गर्दै आतङ्कको विरुद्धमा भारत एकमत रहेको बताए। ‘‘देश एकछत्र दृढताका साथ उभिएको छ । मानवता र न्यायमा विश्वास गर्ने सबै हामीसँग छन्,’’ उनले भने ।
घटनापछि भारत सरकारले पाकिस्तानका वरिष्ठ कूटनीतिज्ञ साद अहमद वाराइचलाई फिर्ता पठाएको छ । भारतले हमलामा सीमा पारको संलग्नता पुष्टि गर्ने प्रमाणहरू रहेको जनाउँदै पाकिस्तानमाथि कडा प्रतिक्रिया जनाएको हो । साथै, भारतले सिन्धु जल सन्धि निलम्बन, अटारीस्थित समेकित चेकपोस्ट तत्काल बन्द, र सार्क भिसा छुट सुविधा अन्तर्गत पाकिस्तानलाई दिइएको प्रवेशाधिकार खारेज गर्ने निर्णय गरेको छ । यसअन्तर्गत जारी भिसाहरू रद्द गरिएका छन् र पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र देश छोड्न निर्देशन दिइएको छ ।
रक्षामन्त्री राजनाथ सिंहले पनि हमलाको जवाफ ‘ठोस र स्पष्ट’ हुने बताए । घटनास्थल बाइसारन घाँसेमैदान पर्यटकीय क्षेत्र हो । पर्यटकहरू शान्त वातावरणमा विश्राम गरिरहेका बेला करिब दिउँसो १स्३० बजे आक्रमण भएको थियो । सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको भए पनि आर्मी पोशाकमा रहेका छ जना विदेशी आतङ्ककारीहरूले धार्मिक आधारमा लक्ष्य बनाएर हमला गरेका थिए । उनीहरूले सुरक्षा घेरा भेदेर गोली चलाएका थिए । उनीहरुले एक रमणीय क्षेत्रलाई रक्तरञ्जित बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्: