शिक्षक आन्दोलन आज पनि जारी

१२ बैशाख २०८२

काठमाडौ । काठमाडौंको सडक केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलन आज पनि जारी रहनेछ । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्र विरुद्ध छ । त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ ।’

अध्यक्ष सुवेदीले यो आन्दोलन सबैको भएको भन्दै आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुने बताए । उनले भनेका छन्, ‘आन्दोलन सबैको हो । आन्दोलनका उपलब्धि पनि सबैका लागि समानरुपले प्राप्त हुनेछन् ।

त्यसैले आन्दोलनमा सहभागिता र योगदान पनि बराबर हुनुपर्छ भन्ने कुराप्रति सचेत रहिदिनु होला ।’ उनले सडकको सफाइ, दुबो र बोटबिरुवाको सुरक्षाप्रति जिम्मेवार भई जेब्रा बाहेक अन्य ठाउँबाट वारपार नगर्न समेत अनुरोध गरेका छन् ।