भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीका छोरा पक्राउबारे सत्यता नरहेको प्रहरीको दावी

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न सञ्चार माध्यमहरूबाट तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छाडिएका भन्ने प्रेषित समाचारहरूमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ । परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले आज जारी विज्ञप्तिमा तीनकुने घटनामा नेपाली काग्रेसका सह–महामन्त्रीको छोरा पक्राउ गरी बिना कारवाही छोडिएको भन्ने प्रेषित समाचारमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
“सो सन्दर्भमा, त्यस्तो कुनै पनि व्यक्तिलाई यस परिसर तथा मातहत कार्यालयहरूबाट नियन्त्रणमा लिइएको भन्ने समाचारमा कुनै सत्यता नरहेको व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ”, विज्ञप्तिमा भनिएको छ । गत शुक्रबार अध्यक्ष लिङ्देनले गएको चैत १५ गते भाटभटेनी लुटपाटमा कांग्रेसका सहमहामन्त्रीको छोरा पनि संलग्न रहेको रेकर्ड आफूसँग रहेको दाबी गरेका थिए । ‘हामीसँग रेकर्ड छ गृहमन्त्रीज्यू भाटभटेनीको लुटपाटमा तपाईँकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन् ।
किन छाड्नुभयो तुरुन्तै रु तपाईँको नेताको छोराले रक्सी लिएर गयो उसले ल्याएको मान्छेले म रक्सी खान्न मलाई कपडा काम लाग्छ भनेर कपडा लिएर गयो । पछि थाहा भयो, तपाईँहरूको प्रहरीले पक्राउ गर्दा खेरी भिडियोमा हेरे पक्रियो। तर, नेताको छोरा रहेछ । नेताको छोरालाई छोड्नुभयो । ल्याएको मान्छे छुटेन, पछि यो कुरा सार्वजनिक गर्दिन्छु भनेर धम्क्याएपछि दुई घण्टामा छाडिदिनुभयो । त्यसैले यो सत्य तथ्य सार्वजनिक हुन जरुरी छ ।’ उनले भनेका थिए ।
त्यसपछि यो विषय विवादमा तानिएको छ । आइतबार मात्रै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस सह–महामन्त्रीको छोराले भाटभटेनीबाट रक्सी चोरेको प्रमाणित गर्न लिङ्देनलाई चुनौती दिइसकेका छन् । घिमिरेले भनेका छन्, ‘कांग्रेसका कुनचाहिँ सहमहामन्त्रीको कुन छोराले चोरेको हो, प्रमाणित गर्नुस् । होइन भने उहाँले शब्द फिर्ता लिएर माफी माग्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्: