जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै विपक्षीको आपत्ति

१६ बैशाख २०८२

काठमाडौँ । शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रस्ताव प्रतिनिधि सभाको मंगलवारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् ।

पाण्डे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर रहेका छन् । सोमबार दर्ता भएको सो प्रस्तावमा आम जनता पार्टी आजपाका अध्यक्ष प्रभु साह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के।सीको पनि समर्थन छ ।

मंगलवारको सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्न चासो नदेखाएको आरोप लगाए । उनले शिक्षकहरूका माग पूरा गर्नुको सट्टा सरकार पानी र बुट बजार्ने काममा लागेको आरोपसमेत लगाए ।

प्रतिपक्षी दलहरूले राखेको प्रस्तावमाथि छलफल गर्न सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ । विगत लामो समयदेखि आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलनरत चिकित्सकहरूको आवाजलाई समेत सरकारले वेवास्ता गर्दै आइरहेको विपक्षीहरूको भनाइ छ ।