पक्राउ परेको केही घण्टामै छुटे रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी पक्राउ परेको केही घण्टामै रिहा भएका छन् । सर्वोच्च अदालतको फैसलाविना एक कर्मचारीले पक्राउ पत्र लेखेकै भरमा उनी पार्टी एकीकरणको कार्यक्रम स्थल प्रज्ञा भवनबाट आज दिउँसो पक्राउ परेका थिए ।
डा. सीके रावत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि सहमति भएपछि नयाँ पार्टी नागरिक जनमत पार्टी (नाजपा)को घोषणाका लागि बुधबार नेपाल प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिएको थियो । तर कार्यक्रम स्थलमा सादा पोसाकका प्रहरी आएर चौधरीलाई पक्राउ गरेपछि डिल्लीबजारस्थित कारागारमा राखिएको थियो ।
टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा जन्मकैद जेलसजाए पाएका चौधरी गत वर्ष २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेपछि चौधरी सक्रिय राजनीतिमा आएका थिए।
जेलमुक्त भएको करिब तीन वर्षपछि पुनः एकाएक चौधरी पक्राउ परेपछि शंका उब्जिएको थियो । चौधरीलाई पक्राउ मात्रै गरिएन, केहि समयका लागि डिल्लीबजारस्थित कारागारमा पुर्याएको थियो ।
यद्यपी उनी कारागारमा पुगेको केही समय पछि नै उनको रिहाका लागि सर्वोच्चले आदेश दिएको थियो । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको बताउँदै रिहाका लागि आदेश दिएको हो । त्यसपछि चौधरी छुटेका हुन् ।
चौधरीलाई छुटाउन जनमत पार्टीका अध्यक्ष सीके राउतसहितका नेताहरू डिल्लीबजार पुगेका थिए । तर, यता चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने कर्मचारी भने प्रहरीको हिरासतमा पुगेका छन् ।
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टलाई पक्राउ गरेर हिरासतमा राखिएको हो । हिरासतमा दिएको बयानमा उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन ।
प्रतिक्रिया दिनुहोस्: