यी हुन् सरकार र शिक्षकबीच भएको सहमतिको नौ बुँदा

१८ बैशाख २०८२

काठमाडौं । अन्ततः सरकार र आन्दोलनरत शिक्षकबीच आज सहमति भएको छ । झण्डै महिना दिनको सडक संघर्षपछि सरकार शिक्षकहरूको माग सम्बोधन गर्न तयार भएको हो । सरकार र आन्दोलनरत शिक्षकहरूबीच नौ वटा बुँदामा सहमतिभएको छ ।

सहमतिपछि बुधबार साँझ नै बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई स्वीकार गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यस्ता छन् नौबुँदे सहमति-

–बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी, लेखापालका लागि दरबन्दी कायम गरी प्रतिमहिना ३२ हजार तलब दिने र कार्यालय सहयोगी तथा श्रेणीविहीन कर्मचारीको तलब वृद्धि गर्ने।

–सातवटै प्रादेशिक अस्पताल र निजामती अस्पतालबाट सबै शिक्षक, कर्मचारीको सहुलियतमा उपचार गराउने व्यवस्था गर्ने ।

–राहत, अस्थायी, करार, साविक उमावि, बालविकास शिक्षक र कर्मचारी बिरामी बिदा सञ्चित गर्ने र त्यसबापतको रकम एकमुस्ट दिने ।

–निजामतीसँग मिल्दोजुल्दो हुने गरी शिक्षकको ग्रेड वृद्धि गर्ने ।

–मर्यादाक्रममा शिक्षकलाई विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने ।

–निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिकको सरह हुने व्यवस्था गर्ने ।

–प्रधानाध्यापक, शिक्षक र कर्मचारीमाथि स्थानीय तहबाट जथाभावी सरुवा गर्ने, तलबभत्ता नदिनेजस्ता धम्की रोक्नुपर्ने र कारबाही बदर गर्नुपर्ने ।

–स्थायी र अस्थायी कोटाका सबै शिक्षकले निजामती कर्मचारीसरह दुर्गम भत्ता पाउनुपर्ने ।

–संस्थागत विद्यालय शिक्षक कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि योगदानमा आधारित सामाजिक सुरक्षा कोष तय गर्ने ।