गभर्नर नियुक्ती विवादले कांग्रेस–एमाले गठबन्धन धरापमा

समाचार टिप्पणी
प्रचण्डले त नयाँ वर्षमा नयाँ सरकार बन्ने र नयाँ सरकारको नेतृत्व देउवाले नै गर्ने दाबी गरेका थिए । कांग्रेस र एमालेबीच सहकार्यमा संकट आउनुमा प्रमुख कारण नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती मानिएको छ । गभर्नरमा प्रधानमन्त्री ओलीले आफ्नो कोटाबाट नियुक्ती चाहेका छन् । तर, देउवाले डा. गुणाकर भट्टलाई अघि सारेका छन् ।
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली अत्यन्त अविस्वासी मानिन्छन् । नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका उनै ओली नेतृत्वको सरकार अहिले १० महिनामा चलिराखेको छ । तर यो १० महिना निकै कष्टकर ढंगले बितिरहेको छ । सार्वजनिक रुपमा कांग्रेससँग सत्ता–सहकार्यमा कुनै समस्या नभएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले पछिल्लो समय कांग्रेसबाट अवरोध व्यहोर्नुपरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्याण्ड भ्रमणले दुई दलबीच सहकार्यमा संकट उत्पन्न भएको पूर्वअनुमान गरिएको छ ।
तर, देउवा स्वदेश फर्किनुअघि नै दुई नेताबीचको फोनवार्ताले सहकार्यमा कुनै समस्या नभएको सन्देश प्रवाह भयो । देउवा बैंककमै रहेको बेलामा बैशाख ११ गते काठमाडौंमा एमालेको ब्यानरमा आयोजित युथ सेलिब्रेशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एमालेलाई सरकारको चिन्ता नभएको चिन्ता त चुनावको मात्रै भएको अभिव्यक्ति दिएका थिए । त्यसले पनि धेरैले सरकार ढल्दैछ भन्ने हल्लालाई बल पुगेको प्रतिक्रिया बजार तथा सामाजिक सञ्जालमा पोखेका थिए ।
तर, देउवा काठमाडौं ओर्लिएलगत्तै दिएको स्टेटमेन्टपछि भने प्रधानमन्त्री ओलीले सरकार दायाँबायाँ नहुने र सहकार्य सहमतिबमोजिम अघि बढ्ने दाबी गरे । सरकारको कामकारबाहीमाथि यसअघि सार्वजनिक रुपमै आलोचना गर्ने र प्रश्न उठाउने कांग्रेस नेताहरुप्रति पनि प्रधानमन्त्री ओलीले जवाफ फर्काए ।
प्रधानमन्त्रीको बेडरुमसम्म नै विचौलियाको पहुँच रहेको अभिव्यक्ति दिएका कांग्रेस महामन्त्री गगन थापालाई त उनले त्यो आरोप प्रमाणित गर्न चूनौति पेश गरे । र, गगनको अभिव्यक्तिप्रति आफूलाई दया लागेको पनि प्रधानमन्त्री ओलीको प्रतिक्रिया थियो । कांग्रेस र एमालेबीच सत्ता सहकार्यको लागि भएको ७ बुँदे सहमति कार्यान्वयन नभएको भनेर कांग्रेस नेतृत्व पँक्तिले निरन्तर प्रश्न उठाईराखेको छ । पछिल्लो समय दुई दलबीच सरकार सञ्चालनको लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठककमा समेत गगन जान छोडेका छन् । यसरी हेर्दा कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सुरुवाती दिनको जस्तो सहकार्यमा हार्दिकता नदेखिएको प्रष्ट हुन्छ ।
तर, देउवाले नचाहँदासम्म सरकार ढल्दैन भनेर ढुक्क भएको एमाले नेतृत्व पँक्तिपनि पछिल्लो समय कांग्रेसको भूमिकाबाट सशंकित बनेको छ । सरकार ढल्दैछ र सरकार बनाउनेगरि कांग्रेस सभापति देउवासँग कुराकानी अघि बढेको भनेर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेपछि कांग्रेस र एमालेबीचको सहकार्यमा संकट आएको दाबी गरिएको हो ।
प्रचण्डले त नयाँ वर्षमा नयाँ सरकार बन्ने र नयाँ सरकारको नेतृत्व देउवाले नै गर्ने दाबी गरेका थिए । कांग्रेस र एमालेबीच सहकार्यमा संकट आउनुमा प्रमुख कारण नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ती मानिएको छ । गभर्नरमा प्रधानमन्त्री ओलीले आफ्नो कोटाबाट नियुक्ती चाहेका छन् । तर, देउवाले डा. गुणाकर भट्टलाई अघि सारेका छन् ।
देउवाकै वचनको कारण भट्टले नेपाल राष्ट्र बैंकको निर्देशकबाट राजीनामा दिइसकेका छन् । तर, राजीनामा दिएको दुई साता हुन लाग्दासमेत अझै उनको नियुक्ती हुन सकेको छैन् । प्रधानमन्त्री ओलीले डेपुटी गभर्नर निलम ढुंगानालाई अघि सारेका छन् । ढुंगानाले आफूभन्दा जुनियरलाई कसरी गभर्नर मान्ने भनेर प्रश्न उठाउँदै भट्टको राजीनामा स्विकृत नगरेको चर्चा छ । अहिले ढुंगानालाई एमाले पँक्तिले नयाँ गभर्नरको रुपमा एक्सपोज गरिसकेको छ ।
एमाले नेताहरुले त बधाईसमेत ज्ञापन गरिसकेका छन् । हिजो विराटनगरमा आयोजित लगानी सम्मेलनमा भाग लिन जाने क्रममा एयरपोर्टमा पनि उनी बधाई ग्रहण गरिरहेकी थिईन् । देउवाले आजकै मन्त्रिपरिषद् बैठकमार्फत भट्टलाई गभर्नर नियुक्तीको दबाब दिएको स्रोतको दाबी छ । मन्त्रिपरिषद् बैठक विहान १०ः३० बजे बोलाईएको थियो । उता, हिजोमात्रै नियुक्त भएको उर्जा राज्यमन्त्री खमबहादुर गर्बुजाको शपथपनि गराउने भनिएको थियो ।
तर, एकाएक मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ रोकिएको छ । यसरी मन्त्रिपरिषद् बैठक रोकिनुमा कांग्रेस–एमाले सहकार्यमा खटपटको रुपमा लिईएको छ । प्रधानमन्त्री ओलीसँग सहकार्यलाई लिएर देउवाले पनि पछिल्लो समय खासै सहजता अनूभव नगरेको बताईन्छ । आजै नीति तथा कार्यक्रम आउने, र बजेट आउने दिनपनि नजिकिएको कारण सरकारबाट बाहिरिने निर्णय लिनपनि अप्ठ्यारो भएकोले देउवा रोकिएको उच्च स्रोतको दाबी छ ।
तर, देउवा अब एमालेसँगको सहकार्य लामो लैजाने पक्षमा नरहेको विश्वस्त स्रोतको दाबी छ । तर, देउवाले आज÷भोलिभित्रै कडा कदम चाल्नेगरि आन्तरिक तयारी थालेका छन् । यसको लागि उनी महामन्त्री गगन थापासँग निरन्तर सम्वादमा रहेको बताईन्छ ।
प्रतिक्रिया दिनुहोस्: