परराष्ट्रमन्त्रीको आग्रह – एनआरएनएभित्र राजनीति नगरिदिनुस्

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) भित्र राजनीति नगर्न आग्रह गरेकी छन् । शनिबार काठमाडौंमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले राजनीति गर्ने ठाउँ फरक रहेको भन्दै एनआरएनए संस्था राजनीति गर्ने ठाउँ नभएको बताइन् ।
उनले एनआरएनएमा रहेर देश समृद्ध बनाउन सहयोग गर्नुपर्ने बताइन् । राजनीति गर्नेलाई समृद्धि कसरी ल्याउन सकिन्छ ? भन्ने कुरा राम्रोसँग जानकारी नहुने भन्दै विदेशमा देखेका र भोगेका कुरालाई नेपालमा आएर परिणाम दिन सकिने बताइन् ।
परराष्ट्र मन्त्री डा. राणाले भनिन्, ‘यहाँ आएर राजनीति नगरिदिनुस् । यहाँ आएर देशलाई समृद्ध बनाउन तपाईँहरूले सहयोग गरिदिनुस् । हामी राजनीति गर्नेलाई त्यत्ति धेरै समृद्धि कसरी गर्ने भनिन्र थाहा छैन ।
तपाईँहरू त कहीँ लेभर गरेर पनि गर्नुभएको छ । एउटै जेनेरेशनभित्र तपाईँहरूले कति ठूलो फड्को मारेर आफ्नो सन्तान, समाज, गाउँ, समुदायलाई अगाडि बढाउनुभएको छ ।’ परराष्ट्र मन्त्री डा. राणाले गैरआवासीय नेपालीहरू आफ्नो परिबार, समाज, गाउँ र समुदाय विकास गर्ने महत्त्वपूर्ण माध्यम रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस्: