आलोचना भएपछि पूर्वमन्त्री योगेश भट्टराई भैरहवा विमानस्थलको छानबिन समितिमा बस्न इन्कार

२१ बैशाख २०८२

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न गठित समितिमा बस्न अस्विकार गरेका छन् । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा पर्यटनमन्त्री भइसकेको व्यक्ति उपसमितिको संयोजक बस्नु उचित नहुने आवाज उठेपछि सांसद भट्टराईले इन्कार गरेका हुन् ।

लेखा समितिले गत जेठ २७ गते भट्टराईको नेतृत्वमा बनाएको उपसमितिमा मनिष झासँगै अमरेशकुमार सिंह, अच्युतप्रसाद मैनाली, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, मञ्जु खाँण र सराज अहमद फारुकी सदस्य छन्। समितिमै रहेका सांसदहरुले भट्टराईलाई नबस्न सुझाव दिएपछि उनी पनि पछि हटेका हुन् ।

उपसमितिले स्थलगत भ्रमण तथा विज्ञहरूसँग परामर्शपछि प्रतिवेदन तयार पारिसकेको छ । भैरहवा विमानस्थल निर्माणको सुरुको लागत ६ अर्ब २२ करोड रहेको थियो । तर, चीनको नोर्थइस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप र थाइल्यान्डको एरोथाई कम्पनीसँग सम्झौता भई विमानस्थल निर्माण भएको र सम्पन्न हुँदासम्म लागत बढेको उपसमितिको प्रतिवेदनमा उल्लेख रहेको बताइएको छ । साथै प्रतिवेदनमा विमानस्थल सञ्चालनका लागि १५ वटा सुझाव दिइएको छ ।