कक्षा १२ को प्रश्नपत्र बाहिरिएको सूचना भ्रामक भएको पुष्टी

२२ बैशाख २०८२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा सम्बन्धी सामाजिक सञ्जालमा देखिएका गलत सूचनाको विश्वास नगर्न अनुरोध गरेको छ । आइतबार सुरु भएको कक्षा १२ को परीक्षा अगाडि नै प्रश्नपत्र सार्वजनिक भएको भन्ने गलत सूचना सामाजिक सञ्जालमा फैलिएपछि बोर्डले यस्तो आग्रह गरेको हो ।

भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वल्र्ड स्कुलमा कक्षा १२ को प्रश्न पत्र आउट भएको भ्रामक समाचार सामाजीक सञ्जालमा पोष्ट भए पछि राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले छानबिन गरेको थियो ।

काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्र चाणक्य कलेजमा पुगेर टोलीले अनुसन्धान गरेको थियो । आज बिहान परीक्षा सुरु हुनुअघि नै विद्यार्थीको हातमा प्रश्न पत्र पुगेको भन्दै सार्वजनिक भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमनमा गएको थियो ।

छानबिनका क्रममा टोलीले पुरानो प्रश्न पत्र साटासाट गरेको पाइएको अनुगमन टोलीले जनाएको थियो आज बिहान ७ः ४५ बजेतिर प्रश्न पत्र बाहिरिएको भन्दै विद्यार्थीहरुले मोबाइलबाट साटासाट गरेका थिए । विद्यार्थीहरुले प्रश्न साटासाट गरिरहेको भिडियो समेत बनाइएको थियो ।
त्यसपछि प्रश्न पत्र बाहिरिएको भन्ने विषयमा चर्चामा आएको हो ।

छानविन टोलीले अनुगमन गर्ने क्रममा प्रश्नपत्र बाहिरिएको हल्ला मात्रै भएको यकिन भएको थियो । त्यसपछि राष्ट्रिय परिक्षा बोर्डले विज्ञप्ति जारी गरी यस्ता कार्यले विद्यार्थीको मनोभावनामा चोट पुर्याउने भएकाले यस्तो नगर्न अनुरोध गरेको हो । विज्ञप्तिमा विषयवस्तुको आधिकारिकता पुष्टि नगरी सामाजिक सञ्जालमा नराख्न अनुरोध गरिएको छ ।