निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा एमाले र राष्ट्रबैंकको गभर्नरमा नेपाली कांग्रेसको भागवण्डा

काठमाडौं । राष्ट्रबैंकको गभर्नर र हाल रिक्त रहेको निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेकाबीचमा भागबन्डा हुँदैछ । कांग्रेस सभापति देउवाले गभर्नर कांग्रेसको भागमा र प्रमुख निर्वाचन आयुक्त एमालेलाई दिन सहमति जनाइसकेको बुझिएको छ । तर, प्रधानमन्त्री ओलीको केही रिजर्वेशनका कारण ढिलाई भइरहेको बताइन्छ । गभर्नरको कार्यकाल सकिनु अगावै नयाँ सिफारिस गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।
तरपनि प्रधानमन्त्री ओलीको असहमतिका कारण २०८१ चैत्र २० गतेदेखि नै नियुक्तिलाई थाती राखेर डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई कामुको जिम्मेवारी दिइएको छ । झापाली चेली कामु गभर्नर तिम्सिनाले प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयबाट एसएलसी र दमक क्याम्पसबाट आईकम गरेकी हुन् । त्यसैले प्रधानमन्त्री ओली र एमालेका नेता तथा कार्यकर्ताहरुले तिम्सिनालाई भावी गभर्नर बनाउन जोडले दबाब दिइएको बताइन्छ ।
अर्कोतिर, पार्टी बाहिर र भित्रका महिला अधिकारवादी नेतृहरूले पनि एमालेले तिम्सिनालाई गभर्नर बनाएर महिला मतदाताको मन जित्नुपर्ने दबाब सरकारमाथि दिंदै आएका छन् । यी कारणले गर्दापनि प्रधानमन्त्री ओली राष्ट्र बैंकको नेतृत्व तिम्सिनालाई नै दिन खोजिरहेको चर्चा छ । तर, नेपाली काँग्रेसले कुनै पनि हालतमा गभर्नर आफ्नो भागमा पार्न ठूलै जोडबल लगाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्: