नगरकोटमा बसेर राजावादी समूहलाई एकजुट बनाउँदै पूर्वराजा

२६ बैशाख २०८२

काठमाडौँ । १० दिनपहिले नगरकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाट बढाएका छन् । नगरकोटको सोल्टी वेस्टएन्ड रिसोर्टमा बसेर उनले राजावादी दल र अभियान्ताहरूसँग छलफल गरेका हुन् । वैशाख १५ गते निर्मल निवासबाट उनी नगरकोट पुगेको सुरक्षा स्रोतले पुष्टि गर्‍यो । उनी सरकारले उपलब्ध गराएको सशस्त्र प्रहरीका डीएसपीसहितको सुरक्षा टोली लिएर नगरकोट पुगेका हुन् ।

नगरकोटमा बसेर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका नेताहरूलाई भेटेका छन्। प्रहरी उच्च स्रोतले भन्यो, ‘१० दिनदेखि होटलमा राजावादी नेताहरूको चहलपहल बाक्लो छ। दुवै दलका शीर्षनेताहरू पुगेका छन्। हामीले बाहिरबाट वाच गर्ने मात्रै हो, भित्रको सुरक्षा सशस्त्र प्रहरीले हेर्छ। तर त्यहाँ पूर्वराजा गएदेखि नै राजावादी दलका नेताहरूको ओहोरदोहोर बाक्लो छ।’

यसअघि राजावादी दलहरू एकजुट नहुँदा राजावादी आन्दोलन नै कमजोर भएपछि त्यहाँ बसेर उनले नयाँ रणनीति बनाउन थालेका छन् । उनले नगरकोटमा छलफल थालेको १० दिनपछि बिहीबार मात्रै राजावादी शक्तिहरू एकजुट भएर आन्दोलन गर्ने घोषणा गरेका छन्  । राजतन्त्र पुनर्स्थापनाका लागि भन्दै गठन गरेको संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

समितिका संयोजक नवराज सुवेदीले बिहीबार राप्रपा र राप्रपा नेपालका अध्यक्षलाई छेउमा राखेर आन्दोलनको घोषणा गर्दै यसमा राजावादी सम्पूर्ण शक्तिहरू एकजुट हुने दाबी गरेका छन्। घोषणा कार्यक्रममा राजेन्द्र लिङ्देन र कमल थापा पनि सहभागी थिए। कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष थापाले पहिलोपटक हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका निम्ति सबै शक्तिहरू एकजुट भएको दाबी गरेका छन् । थापाले राप्रपा नेपालसँगै, राप्रपा, राष्ट्रिय शक्ति नेपाल, नेपाली कांग्रेस (बीपी), शिव सेना लगायत ४४ समूह एकजुट भएको बताएका छन् ।

यसअघि ज्ञानेन्द्र फागुन गते पोखराबाट फर्किंदा उनलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍यालीसहित निर्मल निवास पुर्‍याएका थिए । त्यही दिनबाट थप हौसिएका राजावादीहरूले चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौँको तीनकुनेमा प्रदर्शन गरे ।  तीनकुनेको प्रदर्शनको नेतृत्व गरेका प्रसाईंसहित राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अझै हिरासतमा छन् ।

उनीहरूसहित २५ जनालाई राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । तीनकुनेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भएको थियो । आन्दोलनकारीले सरकारी तथा व्यक्तिका सम्पत्तिमा तोडफोड र आगजनी गर्दा सहानुभूति गुमाएको राजावादी आन्दोलन उठाउन एक महिनापछि पूर्वराजा शाह आफै सक्रिय भएका हुन् ।