नागढुंगामा प्रहरी जवानलाई कुट्ने ट्राफिक इन्सपेक्टरलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौँ । काठमाडौँको नागढुंगा प्रहरी जवानलाई कुट्ने र कुटाइखाने खाने दुवै प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ । कुटाइ खाने र कुटपिटमा संलग्न दुवै प्रहरी कारबाहीमा परेका काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शेखर खनालले जानकारी दिए ।
केही समयअघि थानकोट नाकामा खटिएका ट्राफिक प्रहरीका एक निरीक्षक (इन्सपेक्टर) ले थानकोट बृत्तका एक जवानलाई कुटेका थिए । नाकामा सुरक्षाका लागि खटिएका जवानलाई इन्सपेक्टरले थप्पड हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले चासो देखाएको हो । तर, यो घटना कहिलेको हो, खुलेको छैन ।
भिडिओ सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले छानविन सुरु गरिएको जनाएको छ । कार्यालयले घटनामा संलग्न देखिएका इन्सपेक्टर र कुटाइ खाने प्रहरी जवान दुवैलाई सोधपुछका लागि बोलाएको छ । तर, प्रहरी जवान पिट्ने इन्सपेक्टर र कुटाइ खाने जवान दुवैको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन ।
प्रहरी वरिष्ठ उपरीक्षक खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरुलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानविन भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्: