गभर्नर पौडेल र नाडा अध्यक्ष चौधरीबीच भेटवार्ता, गभर्नरलाई ५ बुँदे सुझाव

काठमाडौँ। नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा मौद्रिक नीतिसँगसम्बन्धित अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेका छन् ।
गभर्नर पौडेलसँगको भेटमा नाडाका अध्यक्ष चौधरीले नेपालको अटोमोबाइल उद्योगको समग्र सुधारका लागि तत्काल कार्यान्वयनयोग्य पाँच बुँदे सुझाव पेस गरे । विशेषगरी वित्तीय पहुँच अभाव, विद्युतीय तथा प्रिमियम सवारीसाधनमा कर्जाको अवरोध, कर्जा नीतिमा देखिएको असमञ्जस्यता र निष्पक्ष वित्त प्रणालीका लागि नियमनको आवश्यकतालगायतमा छलपल गरेको हो ।
अध्यक्ष चौधरीले अटोमोबाइल उद्योग, नेपालको राजस्व, रोजगारी, प्रविधि स्थानान्तरण र दिगो विकास लक्ष्यसँग प्रत्यक्ष सम्बन्धित भएको भन्दै यसलाई सबल बनाउन नीति, वित्त र व्यवहारबीच सन्तुलन अत्यावश्यक रहेको बताए ।
छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले दीर्घकालिन आर्थिक नीति तय गर्ने विषयमा नेपाल राष्ट्र बैंकको सहयोगमा नाडाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने विषयमा प्रस्ताव गरे । छलफलमा गभर्नर पौडेलले नाडाको सुझावलाई गम्भीरताका साथ लिइने बताउँदै आवश्यक विषयहरुमा छलफल गरी समन्वय समेत गरिने आश्वासन दिए ।
गभर्नर पौडेललाई नाडाले दिएका पाँच सुझाव
१. अटोमोबाइल क्षेत्रका लागि ऋण प्रवाहको व्यवहारिक कार्यान्वयन ।
२. लोन टु भ्यालु रेसियो अनुपात न्यूनतम ७० प्रतिशत बनाइयोस् ।
३. कर्जा सेवा टु आम्दानी अनुपातमा लचकता ल्याइयोस् ।
४. विद्युतीय तथा हाइब्रिड सवारीका लागि लक्षित कर्जा योजना ल्याइयोस् ।
५. वित्तीय प्रणालीमा निष्पक्षता सुनिश्चित गर्न नियमन कडाइ गरियोस् ।
प्रतिक्रिया दिनुहोस्: