युवा संघको नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदै

१३ जेष्ठ २०८२

पोखरा । राष्ट्रिय युवा संघ नेपालको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पोखरामा जारी दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत सर्वसम्मत नेतृत्व छान्ने प्रयास असफल भएपछि मतदान हुन लागेको हो ।

प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदाता नामावली प्रकाशन भइसकेको छ । १ हजार ७ सय ५१ जनाको नाम अन्तिम मतदाता नामावलीमा प्रकाशन भएको हो ।

विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ ।

संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेवे र महासचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुन लागेको हो ।