राजावादीको जनआन्दोलन रत्नपार्क केन्द्रित गर्ने तयारी, एमालेको भृकुटीमण्डपमा

१४ जेष्ठ २०८२

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५ मा संयुक्त आन्दोलनको थालनी गर्दै छन् । यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील बन्ने देखिएको छ । नवराज सुबेदीले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी घटकहरूको सहभागीमा वृहत आन्दोलन हुन लागेको हो । उपत्यका बाहिरबाट समेत मानिसहरू उतारेर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने राजावादीहरूको तयारी छ । राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूले बताइरहेका छन् ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफ्नो पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा उत्रिने निर्देशन दिए । उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भनेर समेत भाषण गरेका छन् । यसबाट एमाले र राजावादीबीच सिधा टकराबको जोखिम उत्पन्न भएको छ । संयुक्त जनआन्दोलन समितिले आफ्नो कार्यक्रम रत्नपार्क केन्द्रित गर्ने तयारी गरेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गरिएको थियो । यद्यपि, अहिलेसम्म समितिले रत्नपार्कमा प्रदर्शनका लागि प्रशासनसित अनुमति लिएको छैन ।

आन्दोलनको तयारीमा सक्रिय एक राजावादी नेताले यसपालि कसैसँग अनुमति लिइरहनु नपर्ने तर्क गरे । उनले भने, ‘यो सामान्य खालको आन्दोलन नभएर व्यवस्था उल्टाउने जनविद्रोह हो । फलानो ठाउँमा गरौँ रु भनेर सोधिराख्नु पर्दैन । हाम्रो अहिलेसम्मको तयारी रत्नपार्कमा गर्ने भन्ने छ ।’

एमालेले भने काठमाडौंको कुन ठाउँमा प्रदर्शन गर्ने भनेर निश्चित गरेको छैन । गत चैत ११ गते बसेको एमाले सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो । हिजो एमाले केन्द्रीय कार्यालयमा बसेको जनसंगठन अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका वडा तहसम्मका पदाधिकारीको भेलाले जनप्रदर्शन प्रभावकारी बनाउन विभिन्न नेताहरूलाई जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । तर, जनप्रदर्शन कहाँ गर्ने भन्ने औपचारिक निर्णय र घोषणा भएको छैन ।

पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भृकुटीमण्डपमा गर्ने योजना रहेको बताए । यद्यपि, कार्यक्रमको मोडालिटी तय हुन बाँकी रहेको उनको भनाइ छ । ‘अहिलेसम्मको छलफलमा भृकुटीमण्डपको कुरा भएको छ, आज बेलुकासम्म सबै मोडालिटी तय हुन्छ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौं स्रोतले भने एमाले र राजावादी दुवैतर्फबाट कार्यक्रमका लागि अहिलेसम्म अनुमतिका लागि कुनै पनि पत्र नआएको जानकारी दियो ।