शेरखरको चुनौतीः प्रधानमन्त्रीले जे- जे गरे, बोले पनि कांग्रेसले छुट दिने अनि मलाई के-को कारबाही ?

१४ जेष्ठ २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधि र अभिव्यक्तिबारे आपत्ति जनाएका छन् । आज (मंगलबार) विराटनगरमा आयोजित कांग्रेसको शुभेच्छुक संगठन नेपाल नाई संघको राष्ट्रिय परिषद् उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले ‘जेठ १५ गते काठकमाडौं एमालेको कब्जामा हुनुपर्छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

नेता कोइरालाले प्रधानमन्त्री ओलीले जे–जे गर्दै गएपनि कांग्रेसले छुट दिँदै गएको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘के बाध्यता आइपर्‍यो त्यस्तो प्रधानमन्त्रीले जे–जे गरे पनि कांग्रेसले छुट दिँदै जाने श्र’ प्रश्न गर्दै उनले भने ।

नेता कोइरालाले प्रधानमन्त्री एउटा व्यक्ति नभएर संस्था भएकाले पदमा बसेको मान्छेले बोल्दाखेरी विचार पुर्याउन आवश्यक रहेको बताए । उनले पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठकमा बसेको पदाधिकारी बैठकमा देश बनाउने विषयमा कुरा नभएर आफ्नो बारेमा कुरा काटेर बिताएको सुनाए ।

‘सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला । भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौँ कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला । तर कुरा त मेरै बारेमा मात्रै भएछ,’– नेता कोइरालाले भने ।

स्मरण रहोस्, प्रधानमन्त्री र सरकारको विरुद्धमा बोलेको भन्दै कांग्रेस पदाधिकारी बैठकले नेता कोइराला, डा. सुनिल शर्मा र राजेन्द्र बजगाईँलाई स्पष्टीकरण सोध्नुपर्ने निष्कर्ष बैठकको थियो । तर, नेता कोइरालाले आफूलाई स्पष्टीकरण सोधेर र कारबाही गरेर देखाउन सभापति देउवालाई चुनौती दिएका छन् ।