कर्मचारीमा निराशा, बढेन तलब, महँगी भत्ता पाँच हजार पुर्‍याइयो

१६ जेष्ठ २०८२

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले कर्मचारीलाई निराश बनाएको छ । स्रोतको अभाव देखाउँदै सरकारले तलब नबढाइ महँगी भत्तामात्र बढाएको हो ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता पाँच हजार पुर्‍याइएको बताए ।

बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत दुई हजार रुपैयाँ पाउँदै आएकामा अब तीन हजार थपिने छ । त्यस्तै वार्षिक रूपमा पोशाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् ।

यसले सेवा निवृत्त कर्मचारीलाई भने सम्बोधन गर्ने छैन । कर्मचारीको तलब तीन वर्षदेखि बढेको छैन । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० मा कर्मचारीको तलब १५ प्रतिशत बढाएपछि कर्मचारीहरुको तलब बढेको छैन ।

“राष्ट्र सेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरुप तलब वृद्धि गर्न सम्भव भएन”, उपप्रधानमन्त्रीले भने, “तथापि सबै राष्ट्रसेवकलाई आगामी साउनदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु पाँच हजार पुर्‍याइएको छ ।”