लिग-२ सिरिज आजदेखि, नेपाल र स्कटल्यान्ड भिड्दै

२० जेष्ठ २०८२

काठमाडौं । सात महिनाको लामो अन्तरालपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्यान्डविरुद्ध आजदेखि मैदानमा फर्किंदै छ । आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली स्कटल्यान्ड र बलियो नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डले हालसम्म एकअर्काविरुद्ध ८ एकदिवसीय खेल खेलेका छन्, जसमा नेपालले ४ र स्कटल्यान्डले ३ खेल जित जितेको इतिहास छ । एक खेल भने वर्षाले रद्द भएको थियो । यो तथ्यांकले नेपाललाई मनोवैज्ञानिक फाइदा दिएता पनि स्कटल्यान्डको हालको फर्म र घरेलु मैदानको फाइदा नेपाललाई नोक्सान पुर्याउन पर्याप्त देखिन्छ ।

हाल लिग–२ मा नेपाल १२ खेल खेल्दै २ खेलमा जित, २ खेलमा बराबरी र ८ हारसहित अंक तालिकाको पुछारमा रहेको छ । यो प्रदर्शन सन् २०१९ देखि २३ सम्म चलेको सिरिजको तुलनामा निकै कमजोर हो । जहाँ नेपालले अन्तिम १२ खेलमा ११ जित हासिल गर्दै ग्लोबल क्वालिफायरमा स्थान नै बनाएको थियो ।

हाल ६ अंकसहित समूहको आठौं स्थानमा रहेको नेपाललाई अब बाँकी २४ खेलमा उत्कृष्ट प्रदर्शन गर्नु सिवाय अन्य विकल्प छैन । सोमबारदेखि सुरु हुने त्रिकोणात्मक सिरिजमा स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध राम्रो नतिजा निकाल्न नसके नेपालले एकदिवसीय मान्यता गुमाउनुका साथै ग्लोबल क्वालिफायर पुग्नबाट पनि बञ्चित हुनेछ । सोही कारण नेपालको मुख्य लक्ष्य यो सिरिजमा शीर्ष चारमा रहँदै सिधै सन् २०२७ को विश्वकप क्वालिफायरमा पुग्नु हो ।

यसैगरी अघिल्लो पटकको डिफेन्डिङ च्याम्पियन स्कटल्यान्ड हाल चौथो स्थानमा रहेको छ । १६ खेलमा ९ जित र ५ हारसहित २० अंक जोडेको स्कटल्यान्ड पछिल्लो समय निकै उत्कृष्ट फर्ममा खेलिरहेको छ । पछिल्लो ५ मध्ये ३ खेलमा जित निकालेको यो टोलीको ब्याटिङ र बलिङ दुवैमा निकै बलियो प्रदर्शन गरिरहेको छ ।

नेपालले स्कटल्यान्ड सिरिजका लागि करिब एक महिनाअघि नै यूकेमा प्रशिक्षण सुरु गरेको थियो । त्यहाँ ५ अभ्यास खेलमा स्थानीय टोलीमाथि लगातार जित हासिल गर्दै आत्मविश्वास बढाएको छ । विशेषगरी, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकीय पारीले नेपालको मध्यक्रम फेरि बलियो भएको प्रमाणित गरेको छ ।

यूके भ्रमणपछि स्कटल्यान्डमा पनि नेपालले स्कटल्यान्ड ‘ए’ सँग दुई अभ्यास खेल खेलेको थियो । पहिलो खेलमा १०२ रनको लज्जास्पद हार बेहोरे पनि दोस्रो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको थियो । यद्यपि, उक्त खेल वर्षाका कारण नतिजाविहीन बन्यो ।

यसैगरी स्कटल्यान्डका कप्तान तथा मेरुदण्ड रिची बेरिङटनको अनुभव र स्थिरता नेपालका लागि ठूलो चुनौती बन्ने पक्का छ । ब्रान्डन म्याकमुलनको आक्रामक ब्याटिङ र कसिलो बलिङ नेपाललाई भारी पर्न सक्छ । स्कटल्यान्डको हतियारका रुपमा रहेका ब्राड क्युरी पनि नेपालको लागि समस्या बन्न सक्छन् । ब्राडको कसिलो बलिङले नेपालको ब्याटिङ लाइनअपलाई दबाबमा राख्न सक्छ ।

अर्कोतर्फ नेपाली टोलीका कप्तान रोहित पौडेलको ब्याटिङ, कुशल नेतृत्व र स्थिर मनोविज्ञान नेपाली टोलीका लागि प्लस पोइन्ट हो भने दीपेन्द्रसिंह ऐरी र गुल्सन झाको अलराउण्ड प्रदर्शन, भीम सार्कीको ब्याटिङ र सन्दीप लामिछानेको घातक स्पिन बलिङले नेपाली टोलीलाई स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्ध अग्रस्थानमा उभ्याउँछ ।

नेपालले आफ्नो पहिलो खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिरिजको सुरुवात गर्नेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ । यस्तै, दोस्रो खेल नेपालले जेठ २१ गते नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ। स्कटल्यान्डविरुद्ध नेपालले दोस्रो खेल भने जेठ २५ गते हुनेछ । यस्तै जेठ २७ गते नेपालले नेदरल्यान्ड्सको सामना गर्नेछ। यो सिरिजपश्चात स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग नेपालले असार १ गतेदेखि त्रिकोणात्मक टी–२० आई सिरिज पनि खेल्नेछन् ।

स्कटल्यान्ड र नेदरल्यान्ड्सविरुद्धको यो सिरिज नेपालका लागि टर्निङ प्वाइन्ट बन्न सक्छ । सात महिनाको अन्तराल र अभ्यास खेलको मिश्रित नतिजाले नेपाललाई दबाबमा राखे पनि यूके भ्रमणको आत्मविश्वास र मध्यक्रमको फर्मले केही आशा जगाएको छ । स्कटल्यान्डको फर्म र घरेलु मैदानको चुनौतीलाई पार गर्न नेपालले आफ्नो उत्कृष्ट खेल पस्कनु पर्ने दवाद छ । यो सिरिज नेपालका लागि एक खेल मात्र नभई, यो एकदिवसीय मान्यता जोगाउने र विश्वकप क्वालिफायरको सपना जीवित राख्ने लडाइँ पनि हो ।