माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार (जेठ २२) विशेष अदालतमा उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
नेता नेपालविरुद्ध १८ करोड ५८ लाख रुपैयाँ बिगो दाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बाह्रखरीलाई जानकारी दिए ।
काभ्रेपलाञ्चोकमा पतञ्जलीलाई जग्गा हदबन्दी छुट दिँदा १८ करोड ५८ लाख रुपैयाँ भ्रष्टाचार गरिएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । प्रधानमन्त्री भइसकेका व्यक्तिलाई भ्रष्टाचार मुद्दामा अभियुक्त बनाइएको नेपालमा यो पहिलो घटना हो ।
माधव नेपालको सांसद पद निलम्बनमा
भ्रष्टाचारको मुद्दा दायर भएसँगै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । अख्तियारले आज पतञ्जली जग्गा प्रकरणमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको हो ।
एक महिना नबित्दै अर्को सांसदको पद निलम्बनमा परेको हो। यसअघि टेरामक्स प्रकरणमा नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस्: