वर्तमान सरकार राजनीतिक बदलाको भावनाबाट प्रेरित भयोः एकीकृत समाजवादी

२४ जेष्ठ २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गरेको छ । पार्टी महासचिव घनश्याम भुसालद्वारा हस्ताक्षरित विज्ञप्तिमा वर्तमान सरकार राजनीतिक बदलाको भावनाबाट प्रेरित रहेको उल्लेख छ ।

‘हाम्रो पार्टीका विरुद्ध विगतदेखि नै षडयन्त्रहरु गर्दै आएको कुरा विभिन्न बेलामा देखिएको र तिनलाई हामीले सार्वजनिक गर्दै आएका थियौं । यो हाम्रा विरुद्ध षडयन्त्र अर्को घटना हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कुनै पनि षडयन्त्रको प्रतिवाद गरिने छ,’– विज्ञप्तिमा भनिएको छ ।

यस घटनामा स्वयम् पार्टी अध्यक्ष नेपालले ‘नबिराउनु नडराउनु’ भनेर आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरिसकेको भन्दै एकीकृत समाजवादीले कानूनी प्रक्रियाको सामना गर्ने बताएको छ । आयोगले दर्ता गरेको मुद्दाका बारेमा गरिने कुनै पनि कुप्रचार र भ्रममा नपर्न आग्रह गरिएको छ ।