काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।
महानगरपालिकामा ढल निर्माणको ठेक्कामा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्याएको अभियोगमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियारसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् ।
आयोगका अनुसार, समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ ६३ पैसा) कबोल गरे पनि मिलेमतोमा सो कम्पनीलाई अयोग्य ठहर गरिएको थियो ।
त्यसको सट्टा दोस्रो कम कबोल (२२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँ ९५ पैसा) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको थियो । यसरी महानगरलाई ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ ३२ पैसाको हानि भएको आयोगको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्: