एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि

३० जेष्ठ २०८२

काठमाडौँ । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई–१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् ।प्रहरी आयुक्त मलिकले बीबीसी गुजराती सेवासँग भनेका छन्, ’केही सर्भाइभर पनि हुन सक्छन् तर अहिलेसम्म हामीले २०४ वटा शव संकलन गरेका छौँ । ’

साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ । भारतीय समयअनुसार दिउँसो १ः३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।